आज रातिदेखि वर्षा र हिमपात बढ्ने, सतर्क रहन सरकारको आग्रह

आज रातिदेखि वर्षा र हिमपात बढ्ने, सतर्क रहन सरकारको आग्रह

बिहिवार, कार्तिक १३ २०८३
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौँ । सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सरकारले विपद् व्यवस्थापन, हवाई सुरक्षा र अत्यावश्यक सेवा सञ्चालनमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    प्रधानमन्त्री कार्यालयका अनुसार जनधनको क्षति रोक्न सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही स्थानमा हावाहुरी चल्ने सम्भावना कायमै रहेको कार्यालयले जनाएको छ।

    सरकारले सर्वसाधारणलाई भ्रामक सूचना र अफवाहको पछि नलाग्न तथा आधिकारिक निकायबाट जारी मौसम पूर्वानुमान र सुरक्षा सूचनाका आधारमा सतर्कता अपनाउन आग्रह गरेको छ।

    बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’ कमजोर भइसके पनि त्यसको प्रभावका कारण नेपालमा बिहीबार रातिदेखि वर्षा र हिमपात बढ्न सक्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

    वर्षाको गतिविधि शुक्रबार र शनिबारसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि शनिबारसम्म हावाहुरी, चट्याङ, हिमआँधी र भारी वर्षाको सम्भावना रहेकाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहण नगर्न आग्रह गरेको छ।

    मौसमजन्य जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन सुरक्षा निकायले विभिन्न स्थानमा माइकिङ गरिरहेका छन्। पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पनि पदयात्रा तथा पर्वतारोहणमा जानुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक र पर्वतारोहीलाई आग्रह गरेका छन्।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण र वैकल्पिक उडान योजनासहित सञ्चार तथा विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले पनि स्थानीय जोखिमको मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन्।

    राजमार्गमा बाढी र पहिरोको जोखिम
    सम्भावित वर्षाका कारण नारायणी, बागमती र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा बाढी, कटान र पहिरोको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखा तथा भौगर्भिक र जलजन्य विपद्सम्बन्धी निकायले विशेषगरी पहाडी तथा भिरालो भूभागका सडकमा पहिरो खस्ने, ढुंगा झर्ने र सडक भासिने जोखिम औंल्याएका छन्।

    नदी किनारका सडकमा पानीको सतह बढ्दा बाढी र कटान हुन सक्ने तथा साना–ठूला खोला र कल्भर्टमा पानीको बहाव बढेर सडकमा क्षति पुग्न सक्ने जोखिम छ। बाढीपहिरोका कारण सडक अवरुद्ध भए यातायात र अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित हुन सक्छ।

    सम्बन्धित निकायका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको त्रिशूली तथा नारायणी नदी किनार, कोशी राजमार्ग, सिद्धार्थ राजमार्ग, कान्ति राजमार्ग र अरनिको राजमार्गका संवेदनशील खण्डमा विशेष सतर्कता आवश्यक छ। बागमती नदी जलाधारसँग जोडिएका सडक तथा विगतमा पहिरो गएका र नदी किनारमा रहेका अन्य सडक खण्डमा पनि जोखिम बढ्न सक्ने जनाइएको छ।

    ‘अर्णव’ कमजोर, अर्को न्यूनचापीय प्रणाली विकसित हुँदै
    भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भएको छ। बिहीबार बिहानसम्म यो दक्षिण छत्तीसगढ र आसपासको दक्षिण ओडिशा क्षेत्रमा केन्द्रित थियो। प्रणाली उत्तरतर्फ सर्दै थप कमजोर हुने र बिहीबार साँझसम्म स्पष्ट न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको विभागले जनाएको छ।

    यसैबीच, दक्षिण अण्डमान सागर र आसपास बिहीबार बिहान अर्को न्यूनचापीय क्षेत्र विकसित भएको छ। यो प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने र आगामी २४ घण्टामा स्पष्ट न्यूनचापीय क्षेत्रमा परिणत हुने अनुमान छ। त्यसपछिको थप २४ घण्टाभित्र दक्षिणपूर्वी बंगालको खाडी र आसपासको क्षेत्रमा अवदाबमा विकसित हुन सक्ने भारतीय मौसम विज्ञान विभागको पूर्वानुमान छ।

    मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आधिकारिक पूर्वानुमान नियमित रूपमा हेर्न, जोखिमयुक्त सडक तथा नदी किनारमा अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij