काठमाडाैँ। इरान युद्धपछि बढेको ऊर्जा मूल्य, उच्च ब्याजदर र तीव्र एल निनोका कारण यस वर्ष करिब १३ करोड मानिस गरिबीमा धकेलिने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले चेतावनी दिएको छ ।
लगातारका सङ्कटले विकासोन्मुख देशको अर्थतन्त्र कमजोर बनाएको र तिनलाई सामना गर्न आवश्यक स्रोत तथा समय अभाव भएको युएनडिपीका प्रमुख अलेक्जान्डर डे क्रूले बताए।
यसैबिच यूएनडीपीले यस वर्ष एल निनो शक्तिशाली हुने सम्भावना औँल्याउँदै बाढी, खडेरीलगायतका चरम मौसमी घटनाले थप क्षति पुर्याउन सक्ने जनाएको छ । तिनको प्रभाव सन् २०२७ को सुरुतिर उत्कर्षमा पुग्न सक्ने अनुमान गरिएको छ।
डे क्रूले विकासोन्मुख देशमा आर्थिक वृद्धि, रोजगारी सिर्जना र जलवायु जोखिम न्यूनीकरणका लागि लगानी बढाउन तथा अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न आग्रह गरेका छन्। उनले जलवायु परिवर्तनबाट हुने आर्थिक क्षति रोक्न निजी क्षेत्रको लगानीसमेत आवश्यक रहेको बताए।