काठमाडौ । दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू पत्ता लगाइएको हो।
घटनापछि दक्षिण कोरियाले सैन्य निगरानी बढाएको छ। साथै, उसले अमेरिका र जापानसँग पनि सूचनाको आदानप्रदान गरिरहेको जनाएको छ।
उत्तर कोरियाले सीमा क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको केही दिनपछि क्षेप्यास्त्र प्रहार गरेको हो।
गत महिना बारुदी सुरुङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई देशबीचको तनाव थप बढेको थियो। दक्षिण कोरियाले उक्त घटनामा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाउँदै आएको छ। तर, उत्तर कोरियाले भने त्यसलाई अस्वीकार गर्दै आएको छ।
सम्भावित सैन्य झडप रोक्न दक्षिण कोरियाले सीमासम्बन्धी वार्ताको प्रस्ताव गरे पनि उत्तर कोरियाले त्यसको जवाफ दिएको छैन।
पछिल्ला साताहरूमा उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने क्रुज क्षेप्यास्त्र र हाइपरसोनिक क्षेप्यास्त्रसहित विभिन्न प्रकारका हतियार परीक्षण गर्दै आएको छ। यसले कोरियाली प्रायद्वीपमा सुरक्षा तनाव कायमै रहेको देखाएको छ।