नारायण पोखरेल प्रतिष्ठानको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन

नारायण पोखरेल प्रतिष्ठानको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं । नारायण पोखरेल प्रतिष्ठानको नवौँ अधिवेशन शनिबार सम्पन्न भएको छ। बद्रिनारायण धाममा भएको अधिवेशनले डा. विष्णु खनाललाई अध्यक्ष र विनोदबाबु ढकाललाई महासचिवमा निर्वाचित गरेको छ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा ऋषभदेव भट्टराई, भवानी देवकोटा, राजन पुरी, भुवन गिरी, गोपाल न्यौपाने, बासु कार्की र रमेश पाठक चयन भएका छन्।

    त्यस्तै सचिवमा डा. रामहरि ढकाल, बद्रि पोखरेल र भगवती खड्का निर्वाचित भएका छन् भने कोषाध्यक्षमा भीमसेन पोखरेल चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पनि अधिवेशनबाट निर्वाचित तथा विधानअनुसार मनोनयन भएका छन्।

    प्रतिष्ठानको विधानअनुसार वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल प्रमुख संरक्षकमा यथावत् छन्। निवर्तमान वरिष्ठ उपाध्यक्ष जयराम लामिछानेलाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिइएको छ।

    नवनिर्वाचित अध्यक्ष डा. खनालले प्रतिष्ठानलाई सामाजिक तथा धार्मिक क्षेत्रमा अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको नीति, नियम र स्थापित मान्यताअनुसार काम गर्दै नेपालका प्रथम धार्मिक सहिद नारायण पोखरेलको योगदानलाई सधैँ जीवित राख्ने बताए।

    उनले गुरु दीनबन्धु पोखरेलले अघि बढाउँदै आएको अभियानलाई नयाँ ढंगले अगाडि बढाउने बताउँदै आधुनिक समाजमा भौतिक र आध्यात्मिक पक्षबीचको समन्वय आवश्यक रहेकोमा जोड दिए।

    अधिवेशनमा वाग्मती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसहित प्रदेशसभा सदस्यहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो। वक्ताहरूले बद्रिनारायण मन्दिर नेपालीहरूको धार्मिक तथा सांस्कृतिक आस्थाको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्दै यसको संरक्षणमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

    अधिवेशनको समापनमा प्रतिष्ठानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने भक्तजन, अतिथि तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij