एनपीएलमा जनकपुरको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

एनपीएलमा जनकपुरको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

बिहिवार, कार्तिक १३ २०८३
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। बिहीबार भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।

    काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरको जितमा ओपनर मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ गरे।

    मोइनले ५१ बलमा ५८ रन बनाएर अविजित रहे। उनले आफ्नो इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, सैफ हसनले ३९ बलमा ४० रन बनाएर नटआउट रहे। यी दुईले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए।

    लक्ष्य पछ्याउने क्रममा जनकपुरले ७ रन जोड्दा ओपनर तृतराज दासलाई गुमाएको थियो। उनी ५ रन बनाएर आउट भए। त्यसपछि ३७ रनको अवस्थामा मयन यादव ९ रनमा पभेलियन फर्किए। तर, मोइन र सैफले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए। काठमाडौंका रिपोन मोन्डलले एक विकेट लिए।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा ११५ रनमा समेटिएको थियो।

    काठमाडौंलाई कम योगफलमा रोक्न जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। राहुलले दुवै ओपनर साम हिजलेट र स्मित पटेलसहित कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे। सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मित सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे।

    काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। कप्तान करण केसीले ८, जहानदाद खानले ५ तथा रिपोन मोन्डलले ९ रन जोडे। शाहव आलम ४ रनमा अविजित रहे।

    काठमाडौंले सुरुदेखि नै लगातार विकेट गुमाएको थियो। टोलीले ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमायो भने १९ रनको अवस्थामा हरिशंकर शाह ९ रन बनाएर आउट भए। त्यसपछि पनि नियमित विकेट पतन हुँदा काठमाडौं ठूलो साझेदारी बनाउन असफल रह्यो। मोहम्मद आदिल आलम पहिलो बलमै आउट भएका थिए।

    जनकपुरले यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। काठमाडौंलाई हराउँदै जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

    एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij