काठमाडौँ । स्पेनको मध्य क्षेत्रमा बुधबार बिहान दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन्।
म्याड्रिडबाट सेभिलतर्फ गइरहेको रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किएको थियो। ठक्करपछि रेलका केही डिब्बा लिकबाट खसेर भिरालो क्षेत्रमा पुगेका थिए।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी छ। पछिल्लो १३ वर्षमा स्पेनमा भएको यो सबैभन्दा घातक रेल दुर्घटना भएको बताइएको छ।
बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीच दुर्घटना भएको थियो। निजी रेल कम्पनी इरियोले सञ्चालन गरेको रेलमा १४७ जना यात्रु सवार थिए। कम्प्युटर प्रणालीमा समस्या आएपछि उक्त रेल रोकिएको थियो।
यातायातमन्त्री पुएन्तेका अनुसार प्रणालीमा खराबी आएपछि म्याड्रिडस्थित २४ घण्टा सञ्चालन हुने नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी लिने व्यवस्था छ। तर, नियन्त्रण केन्द्रले गति सीमा निर्धारण नगरी रेलहरूलाई पुनः सञ्चालन गर्न निर्देशन दिएको उनले बताएका छन्। उनले उक्त निर्णयलाई अस्पष्ट भनेका छन्।
इरियोले आफ्नो रेललाई सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ। रेन्फेको रेलमा ३९७ जना यात्रु सवार थिए।
दुर्घटनाबाट जोगिएका यात्रुहरूले रेलभित्रको अवस्था निकै भयावह रहेको बताएका छन्। ठक्करका कारण यात्रुहरू सिटबाट उछिट्टिएका थिए भने केही भग्नावशेषमा च्यापिएका थिए। बाहिर निस्कन कतिपय यात्रुले झ्यालसमेत फुटाउनुपरेको बताएका छन्।
रेन्फेको रेलमा सवार ६२ वर्षीय साल्भाडोर अरिजाले रोयटर्ससँग कुरा गर्दै ठक्करको प्रभाव निकै भयानक रहेको बताएका छन्। उनका अनुसार केही यात्रु सिटहरूबीच च्यापिएकाले चल्नसमेत सकेका थिएनन्।
दुर्घटनापछि रेलको एउटा डिब्बामा आगलागी भएको थियो। यात्रुहरूले भग्नावशेषमा च्यापिएका मानिसहरू गुहार मागिरहेको र केही मानिस भग्नावशेषमुनि पुरिएको बताएका छन्। दुर्घटनास्थलका तस्बिरमा रेलको लिकको लामो टुक्रा एउटा डिब्बाभित्र छिरेको देखिएको छ।