काठमाडौँ । जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।
बुधबार मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच बढाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा जातीय भेदभाव तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान र कानुनी कारबाही गर्ने, पीडितको सुरक्षा सुनिश्चित गर्ने तथा प्राप्त उजुरीको शीघ्र सम्बोधन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। यस्ता घटनामा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याई पीडितलाई न्याय दिलाउने प्रक्रिया प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने, पीडितका उजुरीलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्ने तथा अनुसन्धान र अभियोजन प्रक्रियालाई छिटो अघि बढाउने विषयमा छलफल भएको थियो।
त्यस्तै, प्रहरी कर्मचारी तथा अधिकारीलाई नियमित ब्रिफिङ र तालिममार्फत जातीय विभेदविरुद्धका कानुनी व्यवस्था, पीडितमैत्री व्यवहार र जवाफदेहिताबारे थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
भेटवार्तामा महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रणका साथै जोखिममा रहेका बालबालिकाको संरक्षण, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउने विषयले पनि स्थान पाएको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई थप सक्रिय बनाउँदै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर पीडितमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो। सीमान्तकृत समुदायबाट प्राप्त उजुरी तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी पीडितलाई आवश्यक संरक्षण र कानुनी उपचारमा पहुँच उपलब्ध गराउनुपर्ने विषय पनि उठाइएको थियो।
यसैगरी, सीमापार बालबालिकाको ओसारपसार तथा बेचबिखनको जोखिम न्यूनीकरण गर्न सीमा क्षेत्रमा जाँच र निगरानी सुदृढ गर्ने, स्थानीय बालकल्याण अधिकारी तथा स्थानीय तहसँग समन्वय बढाउने र सम्बन्धित निकायबीच सहकार्य प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र सुरक्षासम्बन्धी सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकतासमेत औँल्याइएको थियो।
भेटवार्तामा मन्त्रालय र नेपाल प्रहरीबीच समन्वय तथा सहकार्य थप सुदृढ गर्दै जातीय भेदभाव तथा छुवाछुतविरुद्ध प्रभावकारी कानुनी कारबाही अघि बढाउने, हिंसापीडितको संरक्षण गर्ने र महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न थप प्रभावकारी ढङ्गले काम गर्ने विषयमा जोड दिइएको थियो।