काठमाडौँ । सर्बियामा लामो समयदेखि सत्तामा रहेका नेता अलेक्जेन्डर भुचिचले आकस्मिक संसदीय निर्वाचनमा विद्यार्थी आन्दोलनबाट उदाएको दलसँग हार बेहोरेको स्वीकार गरेका छन्।
भुचिचले हार स्वीकार गरेसँगै राजधानी बेलग्रेडसहित सर्बियाका विभिन्न सहरमा नागरिकले सडकमा निस्किएर खुसी मनाएका छन्। उनीहरूले नाचगान र आतिसबाजी गर्दै चुनावी नतिजाको स्वागत गरेका हुन्।
निर्वाचनमा सफलता हासिल गरेको विद्यार्थी समूह ‘स्टुडेन्ट लिस्ट’ का नेता इलिजा स्रदानोभिचले अब सर्बियालाई स्वतन्त्र राज्यका रूपमा अघि बढाउने बताएका छन्। निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्कले यस पटक कीर्तिमानी सङ्ख्यामा मतदान भएको देखाएको छ।
उच्च मतदानले सरकारविरोधी मतलाई एकत्रित गर्न र विद्यार्थी आन्दोलनलाई चुनावी लाभ पुर्याउन सक्ने विश्लेषकहरूले आकलन गरेका थिए।
भुचिचको नेतृत्वमा रहेको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) ले करिब दुई वर्षदेखि जारी सरकारविरोधी आन्दोलनको दबाबबीच आकस्मिक निर्वाचन गराएको थियो। भ्रष्टाचार र सरकारी लापरबाहीविरुद्ध सुरु भएको आन्दोलनले अन्ततः चुनावी प्रतिस्पर्धाको रूप लिएको थियो।
सन् २०२४ मा नोभी साद सहरको रेल्वे स्टेसनको छाना खस्दा १६ जनाको मृत्यु भएपछि आन्दोलन चर्किएको थियो। उक्त घटनालाई भ्रष्टाचार र सरकारी लापरबाहीसँग जोडेर व्यापक विरोध भएको थियो।
यही असन्तुष्टिलाई आधार बनाउँदै विद्यार्थी समूह ‘स्टुडेन्ट लिस्ट’ ले भ्रष्टाचारविरुद्ध अभियान चलाएको थियो। समूहले सरकारप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्न चिकित्सक, कलाकार, प्राध्यापक तथा खेलकुद क्षेत्रका व्यक्तिसहित विभिन्न पृष्ठभूमिका उम्मेदवार अघि सारेको थियो। निर्वाचनमा संसद्का २५० सिटका लागि प्रतिस्पर्धा भएको थियो।
विद्यार्थी आन्दोलनले भ्रष्टाचारमा संलग्न अधिकारीमाथि कारबाही गर्ने, सार्वजनिक संस्थामा राजनीतिक दलको हस्तक्षेप अन्त्य गर्ने र सरकारी प्रसारणमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने प्रतिबद्धता जनाएको छ।
दुई कार्यकाल राष्ट्रपति भइसकेका भुचिच संवैधानिक व्यवस्थाअनुसार तेस्रो कार्यकालका लागि राष्ट्रपति पदमा उम्मेदवार बन्न पाउने अवस्थामा थिएनन्। त्यसैले उनले आफ्नो पार्टीलाई चुनाव जिताएर पुनः प्रधानमन्त्री बन्ने रणनीति बनाएका थिए। उनले सन् २०१७ मा प्रधानमन्त्री पद छाडेका थिए।