काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताएकी छन्।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई बिहीबार सम्बाेधन गर्दै कुलपतिसमेत रहेकी कार्कीले देशको विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताइन्।
‘देशको उच्च शिक्षामा परिवर्तनको आकांक्षा स्वाभाविक भएकाले यसलाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक छ,’ प्रधानमन्त्री कार्कीले भने,‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो। यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ।’
नेपाली विद्यार्थीको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकार भएकाहरूले पर्याप्त ध्यान दिनुपर्ने उनको आग्रह थियो।