बद्रीनाथबाट उडेको हेलिकप्टर जोशीमठमा दुर्घटनाग्रस्त, ६ जना सवार

बद्रीनाथबाट उडेको हेलिकप्टर जोशीमठमा दुर्घटनाग्रस्त, ६ जना सवार

शुक्रवार, कार्तिक १४ २०८३
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं । भारतको उत्तराखण्डस्थित बद्रीनाथ धामबाट देहरादुनका लागि उडेको हेलिकप्टर शुक्रबार जोशीमठ नजिकै दुर्घटनामा परेको छ। खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ट्रान्स भारत एभिएसन प्रालिले सञ्चालन गरेको उक्त हेलिकप्टरमा पाँच जना तीर्थयात्री र एक जना पाइलट गरी ६ जना सवार थिए।

    उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार भीटी–एचसीएक्स कल साइन रहेको हेलिकप्टर दिउँसो करिब १ बजेर १४ मिनेटमा बद्रीनाथबाट उडेको थियो। जोशीमठ उपत्यकामाथि उडिरहेका बेला हेलिकप्टरसँगको सम्पर्क अचानक टुटेको थियो। त्यसपछि ट्र्याकिङ प्रणालीबाट समेत यसको अवस्थिति पत्ता लाग्न सकेन।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र भारतीय सेनाले घटनाबारे पुष्टि गरेका छन्। चमोली जिल्लाका विपद् व्यवस्थापन अधिकारी नन्दकिशोर जोशीका अनुसार ज्योतिर्मठ क्षेत्रअन्तर्गत मारवाडीको चाई गाउँ नजिकै हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

    स्थानीय बासिन्दाले जेपी ड्याममाथिको जङ्गल क्षेत्रमा सेतो रङको वस्तुमा आगो लागेको देखेको जानकारी दिएपछि घटनास्थलको खोजी सुरु गरिएको थियो। त्यस क्षेत्रमा खोजीका लागि अन्य हेलिकप्टरसमेत परिचालन गरिएको छ।

    घटनाको जानकारी पाएलगत्तै राज्य विपद् प्रतिकार्य बल ९एसडीआरएफ०, प्रहरी र जिल्ला प्रशासनको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ। उद्धार टोली पहाडी क्षेत्रमा पुगेर खोजी गरिरहेको अधिकारीहरूले बताएका छन्।

    मुख्यमन्त्री धामीले जिल्ला प्रशासन, विपद् व्यवस्थापन निकाय र एसडीआरएफको संयुक्त उद्धार प्रयासबारे निरन्तर जानकारी लिइरहेको बताएका छन्।

    प्रारम्भिक रूपमा खराब मौसमलाई दुर्घटनाको सम्भावित कारण मानिएको छ। घटनापछि सुरक्षालाई ध्यानमा राख्दै शनिबारका लागि उक्त क्षेत्रमा हेलिकप्टर सेवा स्थगित गरिएको छ।

    हेलिकप्टरमा सवार यात्रु तथा पाइलटको अवस्थाबारे उद्धार टोलीको खोजीपछि थप विवरण आउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij