नागढुंगा सुरुङमार्ग प्रयोग अब निःशुल्क नहुने, कात्तिक १५ देखि शुल्क लागू

नागढुंगा सुरुङमार्ग प्रयोग अब निःशुल्क नहुने, कात्तिक १५ देखि शुल्क लागू

बिहिवार, कार्तिक १३ २०८३
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । 

    आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो । सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो ।

    सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु ६० तोकिएको छ ।

    त्यस्तै, मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ । 

    त्यसैगरी बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा रु २६० र काठमाडौँबाट प्रस्थान गर्दा रु २०० दस्तुर तोकिएको छ । 

    त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र काठमाडौँबाट प्रस्थान गर्दा रु २५० दस्तुर तोकिएको छ । यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर  सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij