काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सभापति गगन थापाले भने यसअघि नै दसैंको फूलपातीका दिन शपथ लिइसकेका छन्।
आज शपथ लिने २२९ जनामध्ये १९ जना पदाधिकारी र २१० जना केन्द्रीय सदस्य रहेका छन्। पदाधिकारीतर्फ एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र ११ सहमहामन्त्री छन्।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट सभापतिसहित २३१ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए। तर, महिला खुलातर्फ निर्वाचित विनिता खड्काको निर्वाचन परिणाममाथि छानबिन भइरहेकाले औपचारिक रूपमा सार्वजनिक हुन सकेको छैन। त्यसैले हालसम्म २३० जनाको मात्रै निर्वाचन परिणाम सार्वजनिक भएको छ।
सभापति थापाले असोज ३१ गते फूलपातीका दिन नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। यसकारण आज सभापतिबाहेक औपचारिक परिणाम सार्वजनिक भएका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन्।
कांग्रेसको विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले ६६ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ। निर्वाचित सदस्यहरूको शपथ कार्यक्रम सम्पन्न भएपछि सभापति थापाले मनोनीत सदस्य छनोटको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।