काठमाडौं । यस वर्षको तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार तिहारमा सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिश्रित फूलका ६० हजार माला खपत हुने अपेक्षा गरिएको छ।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस वर्ष तिहारका लागि आवश्यक फूल र माला स्वदेशी उत्पादनबाटै पूरा हुने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, फ्लोरिकल्चर एसोसिएसन नेपालले भोलिदेखि कात्तिक १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको संयोजक सुमन महर्जनले जानकारी दिएका छन्।
प्रदर्शनीमा ७८ वटा व्यावसायिक फूलका स्टल रहनेछन्। यसले फूल उत्पादक तथा व्यवसायीलाई आफ्ना उत्पादन प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।