काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको अर्नव चक्रवातका कारण नेपालमा समेत मौसम प्रभावित हुन सक्ने भन्दै ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पदयात्री, पर्यटक र पथप्रदर्शकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
टानले सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारीका आधारमा सम्भावित जोखिमबाट बच्न आवश्यक तयारी गर्न आग्रह गरेको हो।
सूचनाअनुसार कात्तिक १३ र १४ गते तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा चट्याङ, हुरीबतास र मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहने जनाइएको छ।
टानले आफ्ना सदस्य कम्पनीलाई गाइड, सहयोगी तथा पर्यटकलाई मौसमको सम्भावित अवस्थाबारे समयमै जानकारी गराउन र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भनेको छ।
त्यसैगरी, घोराड, लार्के, काड्ला, सारीबुँद, छोला र सूर्यकुण्डलगायतका आधार शिविर तथा तिलिचो जस्ता उच्च क्षेत्रका पर्यटकीय गन्तव्यमा रहेका पदयात्रीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। कात्तिक १२ गतेदेखि जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न र मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमै बस्न टानले अनुरोध गरेको छ।
पर्वतारोहणका लागि आधार शिविरतर्फ जान लागेका सदस्य तथा सहयोगीलाई पनि शुक्रबार र शनिबारसम्म यात्रा स्थगित गर्न वा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन भनिएको छ।
मध्य तथा उच्च पहाडी क्षेत्र र नदी किनारमा पदयात्रा गर्दा बाढीको जोखिम भएका खोला तथा नदी आसपास र पहिरो जान सक्ने क्षेत्रमा नबस्न पनि टानले सचेत गराएको छ।
टानका अध्यक्ष सागर पाण्डेले मनास्लु क्षेत्रका तातोपानी, खोर्लाबेँसी, जगत, सोला र नामरुङ, मनाङका खोत्रो, कोटो र चामे तथा म्याग्दी र मुस्ताङका पोखरेलगायतका क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। बाढीपहिरोपछि अस्थायी रूपमा मर्मत गरिएका सडक, पदमार्ग र पुल प्रयोग गर्दा थप सतर्क हुनुपर्ने उनको भनाइ छ।
मौसमसम्बन्धी जानकारीका लागि १११५ तथा विपद्का बेला सहयोग लिन ०१२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न सकिने टानले जनाएको छ।