काठमाडौं । राष्ट्रिय विज्ञान दिवसको अवसरमा निक एकेडेमीद्वारा आयोजित ‘पहिलो निक साइन्स ओलम्पियाड–२०८३ (NicSO–२०८३)’ भव्यताका साथ सम्पन्न भएको छ। विद्यार्थीहरूमा वैज्ञानिक जिज्ञासा, तार्किक सोच र प्रयोगात्मक सीप विकास गर्ने उद्देश्यसहित आयोजित यस प्रतियोगितामा विभिन्न विद्यालयका २२ वटा टोलीहरूको सहभागिता रहेको थियो।
क्वालिफाइङ राउन्ड, प्रयोगात्मक गतिविधि र अन्तिम क्विज राउन्ड पार गर्दै अक्सिडेन्टल पब्लिक स्कुल प्रथम हुँदै नगद १५ हजार रुपैयाँसहित विजेता बनेको छ।
त्यसैगरी, रेडियन्ट पब्लिक बोर्डिङ स्कुल प्रथम रनर–अप (नगद १० हजार) र नेपाल पुलिस स्कुल, सामाखुसी द्वितीय रनर–अप (नगद ५ हजार) भएका छन् भने शीर्ष ६ मा पर्न सफल रोजमेरी आइडल, एनसीसीएस र त्रि–ज्योति माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। साथै विजयी तथा उपविजेता सबै टोलीहरूलाई आकर्षक ट्रफी, पदक र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै नास्टका पूर्वसचिव एवं प्रमुख वरिष्ठ च्याउ वैज्ञानिक डा. बुद्धिरत्न खड्गेले विद्यार्थीहरूमा वैज्ञानिक चेतना, उत्सुकता र नवीन प्रविधिको खोजीप्रतिको अभिरुचि बढाउन यस्ता व्यावहारिक गतिविधिहरू अपरिहार्य हुने विचार व्यक्त गर्नुभएको थियो ।
सहभागी विद्यालयका प्रतिनिधिहरूले पनि सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्ने यो माध्यम अत्यन्तै प्रशंसनीय र व्यावहारिक रहेको प्रतिक्रिया दिएका थिए।