पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त, पाइलटसहित सबै १३ जनाको मृत्यु

पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त, पाइलटसहित सबै १३ जनाको मृत्यु

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ । युरोपेली पर्यटकलाई विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ । नाज्का नगर प्रशासनका अनुसार विमानले शनिबार नजिकैको इका शहरबाट उडान भरेको थियो ।

    उक्त विमान पेरुको विमान सेवा कम्पनी एरोडियानाले सञ्चालन गरिरहेको थियो । कम्पनीले आफ्नो वेबसाइटमा विगत १४ वर्षदेखि सेस्ना ग्रान्ड क्याराभान विमानमार्फत पर्यटकलाई हवाई मार्गबाट ऐतिहासिक तथा पुरातात्विकस्थल नाज्का लाइन्स अवलोकन गराउँदै आएको जनाएको छ ।

    नाज्का लाइन्स पेरुको मरुभूमिको सतह खोतलेर बनाइएका विशाल भू–आकृतिहरूको समूह हो । यी आकृतिहरू सयौं वर्षअघि पेरुका आदिवासी समुदायले बनाएका थिए । विभिन्न जनावरका आकारमा बनाइएका यी आकृतिहरू पूरै रूपमा केवल विमान वा विशेष अवलोकन टावरबाट मात्रै देख्न सकिन्छ । यही विशेषताका कारण नाज्का लाइन्स विश्वप्रसिद्ध पर्यटकीय तथा पुरातात्विकस्थल मानिन्छ ।

    विमानमा ११ जना पर्यटक सवार
    पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा १८ देखि ५४ वर्ष उमेरका ७ जना इटालीका नागरिक, ५२ वर्षका २ जना स्पेनका नागरिक तथा ७७ र ७८ वर्षका २ जना जर्मनीका नागरिक रहेका छन् । यसका साथै विमानका पाइलट अमेरिको सालाजार र सह–पाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि दुर्घटनामा मृत्यु भएको छ ।

    दुर्घटनाको अनुसन्धान हुँदै
    राष्ट्रपति केइको फुजिमोरीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विमानस्थललाई अस्थायी रूपमा बन्द गर्ने विषयमा विचार भइरहेको बताएका छन् । यद्यपि अन्तिम निर्णय सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदन आएपछि मात्र गरिने उनले बताएका छन् । पेरुका अधिकारीहरूले विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् । यता, एरोडियाना कम्पनीले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । 

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij