काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल -प्रचण्ड आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताए ।
आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उहाँले सबै मिलेर देशलाई आगाडि बढाउनुपर्नेमा जोड दिए । एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अहङ्कार नगर्नूस् है गल्ती हुन्छ भनेर बारम्बार संसद्मा बोलिहरेको बताउँदै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा विकास र समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अहङ्कारले आफूलाई बाहिर पठाएको स्मरण गरेका थिए ।
उनले भने, “त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिए सङ्ख्याले केही नापिँदैन । बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ ।” उनले धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न अनुरोध गर्नुभएको छ ।
“इतिहासका आधारमा म सबैका लागि गुरु हुन सक्छु,” संयोजक दाहालले भने, “तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, त्यसैले अनुभवका आधारमा सबैसँग मिलेर काम गर्न तयार छु ।” त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाइ उनको थियो ।