काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री लगातार जनताको भरोसाको केन्द्र बन्दै गएका छन्। भाषणभन्दा कामलाई प्राथमिकता दिने उनको व्यवहारले मतदातामा आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमकुमार खत्रीले आफ्नो औपचारिक चुनावी अभियान सुरु गरेका छन्। अभियानको घोषणा गर्दै उनले लामो समयदेखि आफूले राजनीतिभन्दा बाहिर रहेरै सामाजिक सेवामा समर्पित रहँदै आएको अनुभव नै राजनीतिमा प्रवेशको मुख्य प्रेरणा बनेको बताएका छन्।
उम्मेदवार खत्रीले विगतका वर्षहरूमा करिब ३० हजार विद्यार्थीलाई नियमित रूपमा न्यानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको उल्लेख गर्दै ती बालबालिकाको आँखामा देखिएको आशाले आफूलाई नीति निर्माणको तहसम्म पुगेर अझ व्यवस्थित र व्यापक सेवा गर्ने सङ्कल्प दिलाएको बताए। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्य आफ्नो मूल प्रतिबद्धता रहेको उनको भनाइ छ।
गोरखा १ का मतदातालाई सम्बोधन गर्दै खत्रीले यो अभियान व्यक्तिगत महत्त्वाकांक्षाको परिणाम नभई क्षेत्रको स्वाभिमान, समृद्धि र भविष्यसँग जोडिएको साझा अभियान भएको बताए।
उनले यसपटक आफु काम गर्छु भनेर नभई काम गरेर आएको जिकिर गरे ।
उनले आफ्नो हरेक पाइला जनताको घरआँगनसँग जोडिने र हरेक सास जनसेवामै समर्पित रहने प्रतिज्ञासहित खत्रीले गोरखा १ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई समर्थनका लागि आह्वान गरेका छन्।
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा मैदानमा उत्रिएका प्रेमकुमार खत्रीको अभियानले सामाजिक सेवाको अनुभवलाई राजनीतिक एजेन्डासँग जोडेर अगाडि बढ्ने संकेत दिएको छ।
स्मरण रहोस् अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पनि नेपालि काग्रेसका उम्मेदावर निर्वाचित भएका थिए ।